नाट्य प्रशिक्षक एवं रङ्गकर्मी टंक चौलागाईंको नेतृत्वमा काठमाडौं प्रज्ञा कुञ्ज स्कुलमा विगत १२ वर्षदेखि `नाट्य शिक्षा’ विषयगत रुपमा पठनपाठन भइरहेको छ । पठनपाठन मात्रै नभएर सम्पूर्ण विद्यार्थीहरुले थिएटरमा नाटक मञ्चन गर्दै आइरहेका छन् । हरेक वर्ष विभिन्न थिएटर र कहिले आफ्नै विद्यालयमा ‘मोबाइल थिएटर’ स्थापना गरेर नाटक सप्ताह मनाउँदै आइरहेको छ ।
यो वर्ष कक्षा पाँचदेखि दशसम्मका विद्यार्थीहरुले करिब एघार वटा नाटक मञ्चन गर्दैछन् । यी सबै नाटकहरु रङ्गकर्मी टंक चौलागाईंको लेखन तथा निर्देशन र सुरज मल्ल, सुरज तमु, मन्जु गिरीको सह-निर्देशनमा तयार भएका हुन् ।
प्रज्ञा कुञ्जले हरेक वर्ष एकल बाल नाटक महोत्सव आयोजना गर्दै आइरहेको छ । यो वर्ष पनि यो महोत्सवलाई निरन्तरता दिएकाे छ । त्यसैगरी हरेक वर्ष विद्यालयका विद्यार्थीहरु नाट्य महोत्सवमा भाग लिन विभिन्न देशमा गइरहेका छन् । नाट्य निर्देशक सहित यो वर्ष १५ जना विद्यार्थी र एकजना शिक्षक फ्रान्समा सहभागी भएका छन् । उक्त विद्यालयका विद्यार्थीहरु पोल्यान्ड, बेलारुस, बंगलादेश, अष्ट्रेलियामा नाट्य उत्सवमा सहभागी भइसकेका छन् ।
‘हाम्रो थिएटर टिम राम्रो छ । नाट्य विधालाई हामीले प्राथमिकताका साथ स्थान दिएका छौं । यसले भाषाको साथै विद्यार्थीहरुको सर्वाङगिन विकासमा मद्दत पुर्याएको छ ।’ विद्यालयकी प्रधानअध्यापक सुनिता पौडेल भन्नु हुन्छ ।
साे नाटक सप्ताह जेठ २९ गतेदेखि जेठ ३२ गतेसम्म स्टुडियो थिएटर पिङ्गलास्थानमा मञ्चन हुने छ ।