दर्शना स्कुलको प्रस्तुति सडक नाटक ‘सामाजिक संजाल’ कागेश्ववरी मनोहराको विभिन्न स्थानमा मञ्चन गरिएको छ । सामाजिक संजालको प्रयोगले समाजमा घटी रहेका घटनाहरु जस्तै: फेसबुक, टुइटर, इमो तथा टिकटकको गलत प्रयोग अर्थात दुरुपयोगले हुने बेफाईदा र सहि सदुपयोगले हुने फाइदाहरुलाई नाटकद्वारा जनमासमा जानकारी दिने प्रयास गरिएको छ ।
यस नाटकको लेखक तथा निर्देशक सुरेन्द्र क्षेत्री हुन् भने सहायक निर्देशकको रुपमा खेम राज कोइरालाले काम गरेका हुन्। नाटकमा आईवा रावना, नुजल दाहाल , सुरज न्यौपाने, ऋतिक खड्का र प्रकाशको जिवन्त अभिनय देख्न सकिन्छ । साथै, सडक नाटक ‘सामाजिक संजाल‘ आईतबार दिवा दुई बजे मूलपानीमा र चार बजे बोडेमा देखाईने निर्देशक क्षेत्रीले बताएका छन् । यस अघि पनि सोही स्कुलले विद्यार्थीलाई लक्षित गरी सडक नाटक ‘लागुऔषधको प्रयोग नगरौ‘ मन्चन गरिसकेको छ ।
प्रत्येक बर्ष समाजमा घटेको घटनालाई आधार बनाएर सडक नाटक गरिरहने यस स्कुलले आफ्नो विद्यार्थीहरुलाई पढाईमा मात्रै सिमित नराखी विद्यार्थीहरुको आत्मबल बढाउने, सहि-गलत छुट्याउन सिकाउने तथा सही कार्यको लागि आवाज उठाउन अग्रसर गराउने जस्ता विभिन्न क्रियाकलापहरुमा सहभागी गराएर विद्यार्थीहरुलाई दक्ष बनाउने काम पनि गर्दै आइरहेको छ ।