![](https://i0.wp.com/earlykhabar.com/wp-content/uploads/2021/10/AGM.jpg?fit=612%2C395&ssl=1)
AGM Annual general meeting acronym on wooden cubes on blue backround. Business concept.
विभिन्न चारवटा बैंकहरुले साधारण सभा बोलाएका छन् । कामना सेवा विकास बैंक, कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना वार्षिक साधारण सभा बोलाएका हुन् ।
१. कामना सेवा विकास बैंक
कामना सेवा विकास बैंकले कात्तिक २३ गते १५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको असोज २५ गते, सोमबार सम्पन्न सञ्चालक समितिको ३१६ औं बैठकले पार्क भिलेज रिसोर्ट, बुढानीलकण्ठ, काठमाडौँमा बिहान १० बजे १५ औं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।सभाले बैंक सञ्चालक समितिको असोज ७ गते, बिहीबारको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित नाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै सभाले संस्थापक समुहबाट तीन जना र सर्वसाधारण समुहबाट ३ जना गरि संचालक समितिमा ६ जना निर्वाचन गर्नेछ । सभाले बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको वार्षिक प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तसम्मको बैंकको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/०७८ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण सहितका लेखा परिक्षण सम्बन्धी अनुसूचीहरू छलफल गरी पारित गर्ने, बैंकको आर्थिक वर्ष २०७८/७९ को आय व्ययको लेखापरीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।
२. कुमारी बैंक
कुमारी बैंकले पनि साधारण सभा डाकेको छ । बैंक सञ्चालक समितिको असोज २५ गते सम्पन्न बैठकले कात्तिक १६ गते मंगलबार २१ औं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । सभा बैंकको केन्द्रीय कार्यालय नक्सालमा बिहान साढे ११ बजे भर्चुअल माध्यमबाट बोलाइएको छ । सभामा भाग लिने शेयरधनीका लागि जुम मिटिङ आइडि र पासवर्ड उपलब्ध गराइने बैंकले जनाएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट ६ प्रतिशत बोनस र कर प्रयोजनका समेत २.६७ प्रतिशत नगद गरि कुल ८.६७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश साधारण सभाबाट पारित गरिने एजेडा छ । यस्तै बैंकको जारी तथा चुक्ता पूँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, कम्पनी ऐनले निर्धारण गरेभन्दा संस्थागत सामाजिक उत्तरदायित्व वापत बढी खर्च भएको अनुमोदन गर्ने प्रस्ताव साधारण सभामा रहेको छ ।
बैंकले साधारण सभाबाट कुमारी बैंक र अन्य उपयुक्त बैंक वित्तीय संस्थाहरु एक आपसमा मर्जर गर्न वा प्राप्ती गर्ने सम्बन्धी कार्य गर्न सञ्चालक समितिबाट गठित मर्जर समिति र सो समितिले गरेको कार्य अनुमोदन गर्न, डिडिए गर्न मूल्याङ्कनकर्ता नियुक्त गर्ने लगायतका कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव साधारण सभामा पेश हुँदैछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक ८ गते सोमबार एकदिनका लागि शेयर दाखिल खारेजी (बुक क्लोज) गर्ने मिति तोकेको छ । यसअनुसार कात्तिक ७ गते आइतबारसम्म नेप्सेमा शेयर कारोबार भई बैंकको शेयरधनी दर्ता किताबमा कायम शेयरधनीधरुले मात्रै बैंकको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
३. सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड
आक्रमकभन्दा शालिन बैंकिङ्गलाई अगाडि बढाइरहेको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले थप मर्जर तथा प्राप्ती प्रकृया अगाडि बढाउने भएको छ । बैंकले कात्तिक १६ गते आह्वान गरेको साधारण सभाको विशेष प्रस्तावमा लाभांश अनुमोदनका साथै मर्जर तथा प्राप्ती समेत राखिएको छ । असोज २५ गते बसेको सञ्चालक समितिको ३८० औं बैठकले आह्वान गरेको साधारण सभाको विशेष प्रस्तावको दोस्रो विशेष प्रस्तावमा मर्जरको एजेण्डा राखिएको छ । जसमा सिटिजन्स र अन्य उपयुक्त बैंक वित्तीय संस्थाहरु एक आपसमा मर्जर गर्न वा प्राप्ती गर्ने सम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न तथा आवश्यक प्रकृया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेण्डा रहेको छ ।
ग्रामीण स्तथरमा समेत बैंकिङ्ग सेवा पुर्याउने उदेश्यका साथ बैंकले विकास बैंक र फाइनान्स कम्पनीहरु मर्जर तथा प्राप्ती गर्ने प्रकृया अगाडि बढाइरहेको अवस्था छ । बैंकले सहयोगि विकास बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक, सिर्जना फाइनान्सलाई प्राप्ती गरिसकेको छ । यस्तै वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको डिडिए गर्न राष्ट्रि वा अन्तराष्ट्रिय मूल्याङ्कनकर्ता नियुक्त गर्न सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ । सभाले सञ्चालक समितिले गत आवबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस र कर प्रयोजन सहित ३.०८७ प्रतिशत नगद गरि कुल १६ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।
४. सांग्रिला डेभलपमेन्ट बैंक
सांग्रिला डेभलपमेन्ट बैंकले कात्तिक १६ गते साधारण सभा बोलाएको छ । यससँगै विकास बैंकमध्ये सांग्रिला गत आवको वार्षिक साधारण सभा डाक्ने पहिलो बैंक बनेको छ । बैंकको असोज २५ गते सम्पन्न सञ्चालक समितिको २७८ औं बैठकले कार्तिक १६ गते बैंकको १७ औं वार्षिक साधारण सभा डाक्ने निर्णय गरेको हो । बैंकले काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्याङ्क्वेटमा बिहान १० बजे साधारण सभा आह्वान गरेको हो । सभाले सञ्चाल समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव रहेको छ । दश प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी बढेर ३ अर्ब १ करोड ६ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।
यस्तै उपयुक्त अन्य बैंक वित्तीय संस्थालाई प्राप्ति तथा मर्जरको लागि सञ्चालक समितिलाई अख्तियारी दिने, बैंकको हाल कायम अधिकृत पूँजी वृद्धि गरी ३ अर्बबाट बढाएर ५ अर्ब पुर्याउने प्रस्तावउपर छलफल गरी पारित गर्नेछ । यसैगरी बैंकको प्रबन्धपत्र नियमावलीमा आवश्यक संसोधन उपर नियमनकारी निकायबाट केही संसोधन, परिमार्जन वा थपघट गर्न निर्देशन आएमा आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेछ । चालु आवका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, बाँकी अवकिा लागि गरिएको सञ्चालक नियुक्ती अनुमोदन, लगायतका एजेन्डाहरु साधारण सभामा लैजाने भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक ५ गतेदेखि १६ गतेसम्म शेयर दाखिल खारेजी ९बुकक्लोज० को मिति तोकेको छ । यसअनुसार कात्तिक ४ गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीहरुले मात्रै बैंकको साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्नेछन् ।