सिक्लेस हाइड्रोपावर लिमिटेडले भदौ २९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो। सोमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी १० लाख ५८ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा असोज २ गते हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद असोज १२ गतेसम्म लम्बिनेछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।