![](https://i0.wp.com/earlykhabar.com/wp-content/uploads/2021/10/nepal-rastha-bank-outtt.jpg?fit=597%2C279&ssl=1)
नेपाल राष्ट्र बैंकले जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन र केबलकार परियोजनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जाको किस्ता असुली सम्बन्धमा नयाँ व्यवस्था गरेको छ । केन्द्रीय बैंकले सोमवार एकीकृत निर्देशिका २०७७ मा संशोधन गर्दै यस्ता परियोजनामा प्रवाह भएको कर्जाको किस्ताले ९० दिनभन्दा बढी भाखा नाघेमा त्यस्तो किस्ताको साँवा रकमलाई खराब कर्जामा वर्गीकरण गरी उक्त किस्ताको शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने व्यवस्था लागू गरेको छ ।
यसअघि यस्ता परियोजनामा प्रवाहित कर्जाको किस्ताले ९० दिनभन्दा बढी भाखा नाघेमा त्यस्तो कर्जाको किस्ता रकमलाई खराब कर्जामा वर्गीकरण गरेर किस्ताको शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने व्यवस्था थियो । यसैगरी राष्ट्र बैंकले धितो लिलामी सम्बन्धमा पनि नयाँ व्यवस्था गरेको छ, जसअनुसार अब ऋणीले ६ महिनासम्म ऋणको किस्ता, ब्याज नतिरेमात्र धितो लिलामी प्रक्रिया अघि बढाउन सकिने व्यवस्था गरिएको छ । यसअघिसम्म बैंकहरूले कर्जाको किस्ता, ब्याज तिर्ने अवस्था एक महिना नाघे पछि नै धितो लिलामी प्रक्रिया अघि बढाउने गरेका थिए ।